साधुराम राना मगर
रोशी, काभ्रेपलाञ्चोक, भदौ १५, २०८३ ।
१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय, रोशी गाउँपालिका–९, रजबास, काभ्रेपलाञ्चोकमा अवस्थित विन्ध्यवासिनी पुस्तकालयले विशेष पुस्तकालय कार्यक्रम तथा अभिभावक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
पुस्तकालय व्यवस्थापन समितिका सदस्य तेजबहादुर ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा शिक्षाप्रेमि डिल्लीप्रसाद रेग्मी रहनुभएको थियो।
कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष चोत्रबहादुर सारू मगर, विद्यालयका प्रधानाध्यापक रोशन बोहरा, विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब व्यवस्थापन समितिका अध्यक्ष चोत्रबहादुर चितौरे मगर, विद्यालय व्यवस्थापन समिति सल्लाहकार समितिका सदस्य गिलबहादुर सुन्दास, विभिन्न विद्यालयबाट उपस्थित अतिथि महानुभावहरू, सुनगाभा बाल क्लबका अध्यक्ष सुबिना तामाङ, जुनियर रेडक्रस सर्कलका सभापति सहनशीलता तामाङ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन मञ्चमा आसीन अतिथिहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले सामूहिक रूपमा पुस्तक वाचन गरी गरेका थिए। सामूहिक पुस्तक वाचनमार्फत पठन संस्कृतिको विकास र पुस्तकप्रतिको आकर्षण बढाउने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
सो अवसरमा शैक्षिक वर्ष २०८२ मा पुस्तकालयमा सबैभन्दा धेरै पुस्तक पढ्ने विद्यार्थीहरूमध्येबाट छात्रा रोशनी सुन्दास र छात्र मिलनज्यू ठकुरी तथा अभिभावकहरूमध्येबाट हरिभक्त चितौरे मगरलाई उत्कृष्ट पुस्तकप्रेमी पुरस्कार प्रदान गरिएको थियो। यसका साथै विन्ध्यवासिनी पुस्तकालयका नयाँ आजीवन सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका अभिभावकहरूको सहभागितामा अभिभावक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा धवलागिरी समूह प्रथम, अन्नपूर्ण समूह द्वितीय र सगरमाथा समूह तृतीय भएका थिए।
प्रतियोगितामा सफल समूहलाई कार्यक्रमका सभापति तेजबहादुर ठकुरी, प्रमुख अतिथि डिल्लीप्रसाद रेग्मी तथा विद्यालयका प्रधानाध्यापक रोशन बोहराले पुरस्कार प्रदान गर्नुभएको थियो। कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक साधुराम राना मगरले विन्ध्यवासिनी पुस्तकालयको स्थापना इतिहास, पुस्तकालयको वर्तमान अवस्था तथा राष्ट्रिय पुस्तकालय दिवसको महत्व र उद्देश्यबारे जानकारी गराउनुभएको थियो।
यसै अवसरमा जुनियर रेडक्रस सर्कलले भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बाढीपीडितहरूको सहयोगार्थ चन्दा सङ्कलन समेत गरेको थियो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक रोशन बोहरा तथा प्रमुख अतिथि डिल्लीप्रसाद रेग्मीले पुस्तकालयलाई ज्ञान, सूचना र सिकाइको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँहरूले विद्यार्थीमा नियमित पठन संस्कृतिको विकास गर्न विद्यालय, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका सभापति तेजबहादुर ठकुरीले पुस्तकालयको विकास र विस्तारका लागि सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।
विन्ध्यवासिनी पुस्तकालयकी सचिव विपना शाहले सञ्चालन गर्नुभएको कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा पुस्तक पढ्ने बानीको विकास गर्नुका साथै समुदायमा पठन संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

















