ललितपुर । ०८१ असार ११ गते ।
गोदावरी नगरपालिका-७ देवीचौरको देवी माविमा लैङ्गिक समानताबारे वडा कार्यालय र ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)ले विविध रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा भिमसेन आदर्श मावि र देवी माविका माध्यमिक स्तरका विद्यार्थीहरुका बिचमा लैङ्गिक समानता आजको आवश्यकता विषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा भिमसेन आदर्श माविका निरोज तामाङ पहिलो, देवी माविका सुदिप तिमल्सिना दोस्रो र भिमसेन आदर्श माविकी रसु तामाङ तेस्रो भएकी छन् । प्रतियोगितामा विजेता भएकालाई पुरस्कृत गरिएको थियो ।
आधारभुत तहका बालबालिकाको सहभागितामा नृत्यकलासमेत प्रस्तुत गरिएको थियो । नृत्यकलामा उत्कृष्ट भएकालाई मेडलसहित पुरस्कार प्रदान गरिएको वडा सचिव रत्नमणी प्याकुरेलले बताए ।
त्यसैगरी वडा नं ७ का पाँच ओटै विद्यालयका आधारभूत कक्षा १ देखि ५ तहका बालबिलकाको सहभागितामा चित्रकला प्रतियोगिता गरिएको थियो । राम्राराम्रा चित्र बनाएका बालबालिकालाई हौसलास्वरुप पुरस्कृत गरिएको वडा सदस्य शान्ता मार्पाले बताइन् ।
कार्यक्रममा वडाध्यक्ष मथुराप्रसाद शर्माले लैङ्गिक समानताका बारेमा बालबालिका जानकारी हासिल गरेमा अभिभावक पनि सचेत हुने हुँदा यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले लैङ्गिक समानता बारेमा जानकारी दिँदै जुनसुकै लिङ्गको व्यक्तिलाई पनि आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार रहेको बताइन् । उनले संविधान र ऐन कानुनले महिलालाई अग्राधिकार दिएको पनि बताइन् । ‘
महिलाको अवस्थालाई मध्यनजर गरी अग्राधिकार दिइएको छ । तर, समानता भन्ने मुलमन्त्रलाई हामीले बिर्सनु हुँदैन । तसर्थ जन्मले कोही सानोठूलो वा उचनिच हुँदैन । सबै समान हुन्छन् ।’-तिमल्सिनाले भनिन् ।
रिकोडले देवीचौरमा सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ । सो परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।